रसुवाको टिमुरेमा बाढीको वितण्डा: बस्ती तहसनहस, स्थानीय उद्धारको पर्खाइमा

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचनामा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ। क्षतिको यकिन विवरण भने आउन बाँकी छ।

गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेका वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीपछि टिमुरेमा ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। उनका अनुसार बाढी आएपछि स्थानीयवासी सुरक्षित स्थानका लागि डाँडातर्फ पुगेका छन् भने धेरै नागरिक उद्धारको पर्खाइमा छन्।



घलेका अनुसार बुधबार बिहान करिब साढे ८ बजे ठूलो आवाजसहित अचानक बाढी आएको थियो। बाढीले टिमुरे बजारमा रहेका घर तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको उनले बताए।

“हामीले केही सोच्न पनि नपाउँदै तहसनहस भयो। टिमुरे बजारमा केही पनि बाँकी छैन जस्तो देखिन्छ। कति घर बगे र कति मानिस हराए भन्ने यकिन जानकारी छैन,” घलेले भने।

उनका अनुसार टिमुरेमा मात्रै एक सयभन्दा बढी घर रहेको अनुमान छ। बाढीको तीव्रता र माथिबाट आएको ठूलो आवाज हेर्दा बजार क्षेत्रमा व्यापक क्षति भएको उनले बताए।

बाढीपछि स्थानीयवासी ज्यान जोगाउन डाँडामा भेला भएर बसेका छन्। बालबालिकासहितका परिवारलाई खाद्यान्न र खानेपानीको समेत समस्या भएको घलेले बताए।

“जो जुन अवस्थामा थियौं, भागाभाग गरेर माथि डाँडामा आइपुगेका छौं। साना केटाकेटीलाई के खुवाउने, कसरी जोगाउने भन्ने समस्या छ। अहिले बगेको पानी खाएर बसेका छौं,” उनले भने।

स्थानीयवासी उद्धारको पर्खाइमा रहेको घलेले बताए। उनका अनुसार माथि हेलिकप्टर देखिए पनि प्रभावित क्षेत्रमा उद्धारका लागि अझै पुग्न सकेको छैन।

घलेले सरकारी निकायलाई तत्काल प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतको व्यवस्था गर्न आग्रह गरेका छन्। उनका अनुसार ठूलो संख्यामा स्थानीयवासी तत्काल उद्धार र आधारभूत राहतको प्रतीक्षामा छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सरकारी तथा सुरक्षा निकायबाट उद्धार र क्षतिको विवरण संकलनको काम भइरहेको छ।